भुकम्प पीडितको त्रिपालमा सरकारी कर्मचारीको घूस

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



भूकम्पपीडितको राहत खरिदमा जिल्ला विकास समिति काठमाडौंका स्थानीय विकास अधिकारीलगायतले व्यापारीसँग ‘घूस’ लिएको खुलासा भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आन्तरिक छानबिन प्रतिवेदनमा स्थानीय विकास अधिकारी तीर्थराज भट्टराईसहित लेखा अधिकृत यामनारायण शर्मा र स्टोरकिपर चिरञ्जीवी खड्काले त्रिपाल खरिदमा व्यापारीबाट ‘कमिसन’ लिएको उल्लेख छ ।

जिविस काठमाडौंलाई त्रिपाल सप्लाई गर्ने फर्ममध्येको एक न्यु पशुपति ट्रेड एन्ड सप्लायर्सका सञ्चालक मिथिलेश तिवारीले जिविस कर्मचारीलाई घूस खुवाएको स्वीकारेको स्रोतले बतायो । ‘तिवारीले त्रिपाल उपलब्ध गराएपछि भुक्तानीमा ढिलाइ भएकाले उनीहरूलाई रकम दिएर बाँकी रहेको भुक्तानी लिएको बताएका छन्,’ स्रोतले भन्यो, ‘भूकम्प पीडितलाई तत्काल राहतका लागि आवश्यक सामान खरिदमा समेत मानवीयता बिर्सेर व्यक्तिगत फाइदाका लागि मोलमोलाई भयो ।’

अख्तियारको आरोपपत्रमा स्थानीय विकास अधिकारी तीर्थराज भट्टराईले ४ लाख, यामनारायण शर्माले ३ लाख र स्टोरकिपर चिरञ्जीवी खड्काले डेढ लाख रुपैयाँ कमिसन लिएको उल्लेख छ । ‘त्रिपाल बिक्रीबापत मैले पाउनुपर्ने भुक्तानी रोकेकाले उक्त रकम दिएको हुँ,’ न्यु पशुपतिका सप्लायर मिथिलेश तिवारीले बयानमा भनेका छन् । तिवारी स्वयं पनि त्रिपाल खरिद प्रकरणमा मुछिएका छन् । उनीमाथि २२ लाख ३४ हजार बिगो मागदाबी छ । तीन चरणमा गरी जिविसले न्यु पशुपतिसँग ४३ लाख ७८ हजार रुपैयाँको त्रिपाल खरिद गरेको थियो ।

भूकम्पपछि उद्धार र राहतका क्रममा जिविस काठमाडौंले ७५ लाख ४७ हजार रुपैयाँमा ३ हजार ५० थान त्रिपाल खरिद गरेको थियो । कतिसम्म भने नेपाल टेन्ट एन्ड टारपोलिन प्रालिले सहरी विकास मन्त्रालयलाई ४ रुपैयाँ प्रतिवर्गफिटका दरले बेचेको थियो । काठमाडौं जिविसले १४ रुपैयाँ ७५ पैसासम्म खर्चेको थियो ।

मानवीय विपत्तिका बेलामा जिविसका केही कर्मचारीको मिलेमतोमा एउटै सप्लायरले फरक–फरक फर्मका नाममा रकम प्रस्ताव गरेको प्रतिवेदनमा उल्लेख छ । प्रहरीको विधिविज्ञान प्रयोगशालाले कोटेसन मिलाउन न्यु पशुपति ट्रेड एन्ड सप्लायर्स, ढोलामण्डली इन्टरप्राइजेज र दक्षिणकाली ट्रेड लिंकका नाममा पेस भएको कोटेसनमा एउटै व्यक्तिको अक्षर भएको प्रमाणित गरेको छ । त्यसक्रममा फर्निचर बिक्रीका लागि सूचीकृत कम्पनीले समेत त्रिपाल बिक्री गरेको खुलेको छ ।

जिविसले समेत कोटेसनमा शंकास्पद कागजात पेस गरेको आरोपपत्रमा उल्लेख छ । जिविसले फर्मलाई कोटेसन स्वीकृत भयो भनी २०७२ वैशाख १४ गते पत्राचार गरेको भेटिएको छ । तर सेविका इन्टरप्राइजेजले भने वैशाख २४ गतेमात्रै कोटेसन पेस गरेको खुलेको छ ।

त्यस्तै न्यु पशुपति ट्रेडर्सले जेठ ४ गते नै त्रिपाली भुक्तानीका लागि बिल पेस गरेको छ । जिविसले जेठ २४ गतेमात्रै त्रिपाल प्राप्त भएको भन्दै स्टोर दाखिला गरेको छ । जिविसले खरिद गरेको भाउ सहरी विकास मन्त्रालयको त्रिपाल खरिद दरको तेब्बरसम्म छ ।

अख्तियारले त्रिपाल खरिद प्रकरणमा स्थानीय विकास अधिकारी भट्टराईसहित लेखा अधिकृत शर्मा र स्टोर किपर खड्काविरुद्ध ३५ लाख ६ हजार रुपैयाँका दरले बिगो मागदाबी गरेको छ । त्यसैगरी न्यु पशुपतिका तिवारीबाहेक दिपेश इन्टरप्राइजेजका झमकप्रसाद गौतमविरुद्ध ८ लाख ९३ हजार र सेविका इन्टरप्राइजेजका होमप्रसाद गौतमविरुद्ध ३ लाख ७८ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।

जिविस काठमाडौंले ५ चरणमा त्रिपाल खरिद गरेको थियो । न्यु पशुपतिले ३ पटक त्रिपाल सप्लाई गरेको छ । त्यसबाहेक त्रिपाल बिक्रीको सम्झौता गरेका सेविका र दीपेश सप्लायरले पनि मिलेमतो गरेको अख्तियारको दाबी छ । २ लाख ७० हजारमा एक सय ५० थान त्रिपाल उपलब्ध गराएको नेपाल टेन्ट एन्ड टारपोलिन मात्रै भ्रष्टाचारको अभियोगबाट जोगिएको छ ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment