बिदेशमा मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै, एक बर्षमा १ हजार २ जनाले बिदेशमै ज्यान गुमाए

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस




वैदेशिक रोजगारीबाट देश धान्ने रेमिट्यान्स पठाइरहेका नेपाली श्रमिकमध्ये दैनिक तीन जना कफिनभित्र प्लाष्टिकले बेरिएर फर्किरहेका छन्।


साउदी अरबमा मृत्यु भएको तीन महीनापछि गत ५ माघमा हेमन्त शाहीको शव काठमाडौं आइपुगेको थियो। रमिता शाही आफ्ना पतिको शव बाकसबाट निकालेको एकोहोरो हेरिरहेकी थिइन्। तीन महीनासम्म रुँदारुँदा उनका आँखा आँशुविहीन भइसकेका थिए। पैसा कमाउन ९ महीनाअघि सल्यानबाट साउदी अरब गएका बाबुको शवलाई ६ वर्षीय छोराले पशुपति आर्यघाटमा दागबत्ती दिए।


सन् २०१५ मा वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका करीब ८७ हजार नेपालीमध्ये मृत्यु भएका २७३ मा एक थिए, हेमन्त। करीब २० लाख नेपाली रोजगारीका लागि साउदीलगायतका खाडी मुलुक र मलेशिया पुगेका छन्। जुलाई २०१४–जुलाई २०१५ बीचमा तीमध्ये १००२ जनाको मृत्यु भयो, जसमा अधिकांश मलेशियामा थिए। तीमध्ये आधाभन्दा धेरै राति सुतेर फेरि उठेनन्।


यसलाई ‘सडन अनेक्सपेक्टेड डेथ सिन्ड्रोम– एसयूडीएस’ भन्ने गरिएको छ। १८ घण्टे श्रम, शरीरमा पानीको कमी, आवश्यक पोषक तत्वको अभाव र मानसिक तनावका कारण एसयूडीएस हुने स्वास्थ्य विशेषज्ञहरू बताउँछन्।


मलेशिया र कतारमा ‘एसयूडीएस’ बाट बढी मृत्यु भएको पाइएको छ भने साउदी अरबमा दुर्घटनाबाट। हेमन्तका परिवारलाई साउदीका सुपरभाइजरले सुतेको वेला उनको मृत्यु भएको बताएका थिए। शवको बाकसमा रहेको मृत्युको प्रमाणपत्रमा भने सडक दुर्घटनामा मृत्यु भएको उल्लेख थियो। अब रमिताले पतिले विदेश जाँदा लिएको ऋण निखन्नुपर्नेछ।

बाकसमा फिर्ती
फूलमाला पहिरिएर त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको प्रस्थानद्वारभित्र छिरिरहेका दैनिक सरदर १५०० नेपाली युवाको उत्साहले सबैको ध्यान खिच्छ। त्यही विमानस्थलको आगमनद्वारबाट निस्किरहेका शवका बाकसहरूले भने कमैको ध्यान खिचेको छ।


दैनिक आउने सरदर तीन वटा बाकस तिनै युवाका हुन्, जो सन्तानको शिक्षा, वृद्ध आमा–बाबुको उपचारलगायत पारिवारिक गर्जो टार्न वैदेशिक रोजगारीमा गएका थिए। तीमध्ये कतिपय वाचा गरिएअनुसारको काम र ज्याला नपाएर ऋण तिर्न पुग्नेसम्मको बचत नहुँदै फर्कन्छन् भने केही बाकसमा।
गत वर्ष करीब पाँच लाख नेपाली खाडीका निर्माण क्षेत्र, मलेशियाका कारखाना र खेतबारीमा काम गर्न पुगे। त्यही अवधिमा एक हजारभन्दा बढी युवा प्लाइउडका बाकसभित्र प्लाष्टिकले बेरिएर फर्किए। कमाउन विदेश गएका नेपाली श्रमिकको यो विघ्न मृत्यु निकै गम्भीर कुरा हो।


श्रमिक आप्रवासनका विज्ञ डा. गणेश गुरुङ १८–४५ वर्ष उमेर समूहका स्वस्थ र जवान मानिस किन यसरी मरिरहेका छन् भन्नेबारे अनुसन्धान हुनैपर्ने बताउँछन्। जवान कामदारले विदेश जानुअघि परीक्षण गरेर स्वास्थ्य ठीकठाक रहेको प्रमाणपत्र लिएका हुन्छन्। त्यस्ता स्वस्थ र उमेरदारहरूको मृत्यु कामसँग सम्बन्धित दुर्घटनामा नभई सुतेका वेला अप्रत्यासित हृदयघातका कारण हुनुलाई जनस्वास्थ्य विज्ञहरू उदेकलाग्दो भएको बताउँछन्।


गत वर्ष विदेशमा मृत्यु भएका १००२ नेपाली कामदारमध्ये २४५ जनाको मृत्युको कारण ‘एसयूडीसी’ भनिएको छ। मृत्युका अन्य कारणमा कार्यस्थल र सडक दुर्घटना तथा आत्महत्या छन्। खाडी र मलेशियामा मृत्यु भएका अधिकांश श्रमिकको पोष्टमर्टम गरिंदैन।


मृत्यु प्रमाणपत्र नहुँदा एअरलाइन्सहरूले शव नबोक्ने र बीमा कम्पनीहरूले मृत्युको कारण नखुल्दा बीमा रकम नदिने हुनाले रीत पुर्‍याउन मात्रै धेरैजसोलाई हृदयघात वा प्राकृतिक मृत्यु भनेर लेखिन्छ। सम्बन्धित देशको कानूनी दायित्वबाट जोगिन र क्षतिपूर्ति नबेहोर्न रोजगारदाता कम्पनीहरू मृत्युको वास्तविक कारण लुकाउन खोज्छन्।
 

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment